काठमाडौँ । नेपाल वायुसेवा निगमका नवनियुक्त निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले मातहतका कर्मचारीहरूलाई संस्थाको छवि उच्च बनाउने गरी काम गर्न आग्रह गरेका छन् ।
निगममा कार्यरत क्याबिन क्रुहरूको पेसागत संगठन ‘सी क्यान’को ज्ञापन पत्र बुझ्दै आज उनले यात्रुको अगाडि पर्ने क्याबिन क्रुहरुले गर्ने व्यवहारबाट नै संस्थाको छवि आमजनतामा झल्किने बताए।
निमित्त महाप्रबन्धक कालाखेतीले क्याबिन क्रुका आफ्नोतर्फबाट गर्न सकिने समस्या र गुनासा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सी क्यानका अध्यक्ष प्रजिता कार्की नेतृत्वको टोलीले उहाँलाई निगमको नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिएको थियो । निगममा कार्यरत क्याबिन क्रुहरूले अवकाश उमेर ५० वर्ष हुनुपर्ने मागसहित व्यवस्थापनसमक्ष ज्ञापन पत्र पेस गरेका थिए ।
क्याबिन क्रुहरूलाई अन्य कर्मचारीको तुलनामा सेवा, सुविधा र अवकाश उमेरमा भेदभाव र अन्याय हुँदै आएको उहाँहरूको माग छ । यसका साथै सी क्यानले निगमभित्रका बेथिति रोक्न, इञ्जिन मर्मत र भाडा दिँदा हुने अपारदर्शिता, भ्रष्टाचार अन्त्य हुनुपर्ने र त्यसमा आफूहरू सहयोग गर्न तयार रहेको जनाएको छ ।







