जुम्ला। आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा रु आठ करोड ६८ लाख राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु १३ करोड राजस्व संकलनको लक्ष्य राखेकामा रु आठ करोड ६८ लाख संकलन गरेको हो ।
जिल्लास्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले राजस्व संकलन भएकामध्ये सबैभन्दा बढी आयकरतर्फ रु छ करोड ४४ लाख संकलन भएको जानकारी दिए। उनका अनुसार भ्याटतर्फ रु एक करोड ६८ लाख र अन्त:शुल्कतर्फ रु ५६ लाख राजस्व संकलन भएको छ ।
करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला र साना व्यवसायीलाई जोड दिने उद्देश्यले कार्यालयले काम गरिरहेको छ । बजार अनुगमन र स्थानीय तहमा पुगेर कर शिक्षा दिइनेगरी काम भइरहेको प्रमुख कर अधिकृत घिमिरेले बताए । उनका अनुसार जिल्लामा १७ हजार बढी करदाता छन् ।
भ्याटतर्फ मात्र दुई हजार ३२ जना रहेका छन् । शुक्रबारसम्म ६७७ जनाले व्यक्तिगत प्यान लिएका छन् । कार्यालयले चालु आवमा रु ६४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ । कार्यालयको गत आवमा वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेका रु ४९ करोड ४६ लाख राजस्व संकलन गरेको थियो ।







