काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन माग गरेका छन् ।
रौतहटको गौरमा रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन सक्नुपर्ने बताए ।
सरकारको मनोमानी कर लिइरहेको र यसले महंगी बढेको पनि उनले बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतंक मचाएको आरोप लगाए ।
‘सरकार पिच्छेको सरकारले हरेक वस्तुमा करमाथि कर लगाउने काम गरिरहेको छ,’ उनले भनेका छन्, ‘हामीभन्दा ठूलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ?’
यस्तो प्रश्न नागरिक स्तरमा रहेको उल्लेख गर्दै उनले थपे, ‘भारतमा २ लाखमा पाउने मोटरसाइकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ?’
हरेक वस्तुमा मनपरी लगाउने गरिएकाले उद्योग, व्यापार क्षेत्र समेत प्रभावित रहेको उनको भनाइ छ ।
‘सर्वसाधारणले उपभोग गर्ने वस्तुहरू धेरै कर कै कारण महँगो भएको छ,’ उनले भने, ‘गाउँ शहरदेखि सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिक कर आतंकले पीडित भएका छन् ।’







