काठमाडौँ । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु. १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो।
ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका-५ का रोबिन जिआर तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
अभियुक्त रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु. दुई लाख १० हजार र गीताले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट रु. आठ लाख ४० हजार लिएका थिए। उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ।







