काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष एवं नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली काँग्रेस ‘कोमा’मा रहेको टिप्पणी गरेका छन् ।
भृकुटीमण्डपमा आइतबार आयोजित काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता चन्दले पार्टीभित्रको गतिरोध र निष्क्रियतालाई संकेत गर्दै यस्तो बताएका हुन् । उनले चार महिनासम्म थलिएको पार्टीलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका अभियानकर्ताहरूले नयाँ प्राण भरेको दाबी गरेका छन् ।
‘झन्डै चार महिना नेपाली काँग्रेस कोमामा थियो, ’चन्दले भने, चार महिनापछि कोमामा रहेको काँग्रेसलाई प्राणवायु दिएर जीवन्त बनाउने जसले साहस गर्नुभयो, म ती सबैलाई सम्मान गर्न चाहन्छु ।’
ऐतिहासिक रूपमा देशको अभिभावकत्व ग्रहण गर्दै आएको काँग्रेस पछिल्लो समय दिशाहीन बनेको उल्लेख गर्दै उनले अब पार्टी पुनः अभिभावककै भूमिकामा फर्कन लागेको बताए । उनले पार्टीलाई ब्युँझाउन भूमिका खेल्ने दुवै महामन्त्री र पार्टी सुदृढीकरण अभियानमा लागेका अभियन्ताहरूको प्रशंसा गरेका छन् ।
उनले थपे, ‘इतिहासमा यो देशलाई अभिभावकत्व दिएको पार्टीलाई यहाँसम्म (पुनर्जीवन) पुर्याउनुहुने आदरणीय दुवै महामन्त्री र अभियन्ताहरूलाई म विशेष रूपमा सम्झन चाहन्छु । अब काँग्रेस फेरि देशको असली अभिभावक पार्टी बन्दै छ ।







