काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीका प्रदेश सचिव जनक बुढाका अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ मा रामलाल डगौरा थारु, क्षेत्र नं ३ मा वीरमान चौधरी र क्षेत्र नं ४ मा हरिराम चौधरीलाई उम्मेदवार बनाउने तय भएको छ ।
यस्तै, कञ्चनपुर निर्वाचन-१ मा बिना मगर, क्षेत्र नं २ मा लालबहादुर खड्का र क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने निश्चित भएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा डा. भीमबहादुर रावल र क्षेत्र नं २ मा शरद्सिंह भण्डारीको नाम टुंगो लागेको पनि बुढाले बताए ।
यसैगरी, डोटीमा प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका त्रिलोचन भट्ट, बाजुरामा प्रकाशबहादुर शाह, डडेल्धुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी, बैतडीमा परमानन्द भट्ट र बझाङमा मीनबहादुर कुँवरलाई उम्मेदवार बनाउने करिब टुंगो लागेको उनले जानकारी दिए ।
कैलालीका निर्वाचन क्षेत्र नं २ मा राजेन्द्र साउँद र ५ मा प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
उम्मेदवारका आकांक्षी केन्द्रमा सिफारिस गरिसकेका नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका दलले भने अझै दलका तर्फबाट उठाइने उम्मेदवारको टुंगो लगाउन बाँकी छ । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारको मनोनयन गर्नुपर्ने कार्यतालिका छ ।







