काठमाडौँ । भक्तपुर र काभ्रेपलान्चोकको सीमावर्ती क्षेत्र साँगामा निर्माणाधीन दुई लेनको अन्डरपासको काम उल्लेख्य गतिमा अगाडि बढिरहेको छ।
अरनिको राजमार्ग अन्तर्गत सञ्चालनमा रहेको सूर्यविनायक-धुलिखेल सडक स्तरोन्नति योजनाअन्तर्गत उक्त संरचना निर्माण भइरहेको हो।
आयोजना कार्यालयका अनुसार अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहनेछ। यसमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर लामो पहुँच सडक समावेश गरिएको छ। संरचनाको उचाइ ६ मिटर र चौडाइ १० दशमलव ५ मिटर तोकिएको छ। साथै अन्डरपास भित्रै करिब २० मिटर लम्बाइको पुल निर्माण गरिने व्यवस्था रहेको छ।
हालसम्म अन्डरपास निर्माणको करिब ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ । यस चरणमा फाउन्डेसन तथा सुपरस्ट्रक्चरसम्बन्धी कामहरू अगाडि बढाइँदै छन्।
सूर्यविनायक-धुलिखेल सडक आयोजना अन्तर्गत कुल १५ दशमलव ८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति भइरहेको छ। जसमा सूर्यविनायक-साँगा ७ दशमलव ५ किलोमिटर र साँगा-धुलिखेल ८ दशमलव ३ किलोमिटर सडकखण्डलाई अलग-अलग ठेक्कामार्फत कार्यान्वयन गरिएको हो।
सूर्यविनायक-साँगा सडकखण्डमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजना अन्तर्गत ठेक्का सम्झौता २०७९ पुस २४ गते सम्पन्न भएको थियो। सम्झौताअनुसार सूर्यविनायक-साँगा सडकखण्डको लागत तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल सडक खण्डको लागत चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ निर्धारण गरिएको छ।
योजनाको प्रारम्भिक कार्य अवधि २०८० पुस २३ गतेसम्म तोकिए पनि निर्माण समयसीमा विस्तार गरी २०८३ फागुन मसान्तसम्म कायम गरिएको आयोजनाले जनाएको छ।







