काठमाडौँ । गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुंगा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने अटो तथा विद्युतीय रिक्सा सेवाका लागि भाडादर र सञ्चालन मार्ग तोकेको छ।
नगरपालिकाका अनुसार सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउने, यात्रुको सुरक्षा सुनिश्चित गर्ने र सेवामा समानता कायम गर्ने उद्देश्यले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि–२०८२ अनुरूप भाडा तथा रुट निर्धारण गरिएको हो।
जारी सूचनाअनुसार तम्घास बजार क्षेत्रबाट पूर्वतर्फ दुनीखोला र खानिगाउँ, पश्चिमतर्फ भुजेलखर्क र आदर्श चोक, उत्तरतर्फ बोख्रेछेडा, धागिथुम र उदिनढुंगा बेरियल तथा दक्षिणतर्फ उपल्लो तम्घास देउराली क्षेत्रसम्म यात्रा गर्दा प्रति यात्रु भाडा ५० रुपैयाँ कायम गरिएको छ। सोही क्षेत्रभित्र रिजर्भ सेवाका लागि १०० रुपैयाँ भाडादर तोकिएको छ।
निर्धारित स्टेशनभन्दा बाहिरको यात्राका हकमा कच्ची सडकमा प्रति किलोमिटर ६० रुपैयाँ र पक्की सडकमा प्रति किलोमिटर ५० रुपैयाँ भाडा लिने व्यवस्था गरिएको छ। तोकिएको सञ्चालन समयबाहेक सेवा आवश्यक परेमा रिजर्भ प्रणालीमार्फत मात्र सेवा सञ्चालन गर्नुपर्ने प्रावधान लागू गरिएको छ।
नगरपालिकाले निर्धारण गरिएको भाडादरभन्दा बढी शुल्क असुल गरिएको वा नियम विपरीत सेवा सञ्चालन भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।
नगर सूचना अनुसार अटो तथा ई-रिक्सा सेवा दैनिक बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म नियमित रूपमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।







