काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज उडानपछिको प्रारम्भिक चरणमै दायाँ इन्जिनमा आगलागीको संकेत देखिएपछि भारतको कोलकाता डाइभर्ट गरिएको छ।
टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई-७२७ अन्तर्गतको उक्त जहाज बुधबार दिउँसो १:२८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। उडानपछि करिब चार मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको जानकारी प्राप्त भएको त्रिभुवन विमानस्थल प्रशासन स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार जहाजका क्याप्टेनले इन्जिनमा समस्या देखिएको सूचना दिएपछि चालकदलले दायाँ इन्जिन बन्द गरी जहाजलाई पश्चिम दिशातर्फ मोड्दै करिब १० देखि १२ मिनेटसम्म होल्ड गरेको थियो। उक्त जहाज टर्किस एयरलाइन्सको ए-३३०३०३ सिरिजको वाइडबडी विमान हो, जसमा २२५ यात्रु सवार थिए।
इन्जिनमा समस्या आएको जानकारी प्राप्त हुनासाथ सम्भावित आपतकालीन अवस्थालाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो। त्यस अवधिमा दमकल, एम्बुलेन्स तथा अन्य आवश्यक सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको विमानस्थल प्रशासनले जनाएको छ।
ती स्रोतका अनुसार दायाँ इन्जिन बन्द गरेपछि आगलागी नियन्त्रणमा आएको थियो। त्यसपछि चालकदलले बाँकी बायाँ इन्जिनको प्रयोग गर्दै जहाजलाई भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको र विमानस्थल प्रशासनबाट आवश्यक अनुमति प्रदान गरिएको थियो।
विमानस्थल प्रशासनका अनुसार उक्त जहाज कोलकातामा सुरक्षित रूपमा अवतरण गरिसकेको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानअवतरण कार्य सामान्य अवस्थामा सञ्चालनमा रहेको जनाइएको छ।







