काठमाडौँ । झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत पर्ने कमल गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क केन्द्र सञ्चालन भइरहेको आवासमा तोडफोडको घटना भएको छ ।
कमल गाउँपालिका-२ मा अवस्थित जयप्रकाश अधिकारीको निजी निवासमा पार्टीको सम्पर्क कार्यालय सञ्चालन हुँदै आएको थियो । गएराति अज्ञात व्यक्तिबाट गरिएको ढुंगामुढाका कारण घरको एक झ्यालको सिसा फुटेको जानकारी प्राप्त भएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
प्राप्त विवरण अनुसार सम्पर्क कार्यालय घरको माथिल्लो तलामा रहेको छ भने ढुंगा लागेर क्षति पुगेको भाग घरधनी प्रयोग गर्दै आएको कोठासँग सम्बन्धित रहेको प्रजिअ गेलालले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा कारण पत्ता लगाउन सुरक्षा निकायले तथ्य संकलन र छानबिन गरिरहेको प्रशासनले जनाएको छ ।







