काठमाडौँ । राष्ट्रिय सभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेका ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उनले पर्यटनलाई विविधीकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए ।
यसैगरी बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेसबाट २०५४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक यही माघ २८ गते दिउँसो १:१५ बजे बस्नेछ ।







