काठमाडौँ । सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईको फेसबुक ‘स्टटास’ मा लामो समयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले प्रतिक्रिया जनाएका छन् ।
साम्पाङले ‘लु अब चाहिँ सुनसरी-१ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!’ भन्दै लेखेको स्ट्याटसमा रास्वपाका वरिष्ठ नेता साहले प्रतिक्रिया जनाएका हुन् । साम्पाङको स्ट्याटसमा बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘तपाईँलाई सधैँ माया थियो, छ र रहन्छ । तपाई र धरानलाई सधैँ माया रहन्छ ।’ साम्पाङको अभिव्यक्ति र बालेनको प्रतिक्रियामा अन्यले समेत प्रतिक्रिया जनाएका छन् ।
यसअघि अध्यक्ष साम्पाङले अबको प्रधानमन्त्री रास्वपाबाट बालेन साह नभई पार्टी सभापति रवि लामिछाने हुनु राम्रो हुने बताएका थिए । अध्यक्ष साम्पाङले संसदमा सांसदले राखेको प्रश्नको जवाफ दिने व्यक्ति प्रधानमन्त्री हुनुपर्ने विचार व्यक्त गरेका थिए । पछिल्लो समय सार्वजनिक मञ्चबाट मात्र नभई सामाजिक सञ्जालमार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले रास्वपा नेता बालेनको चर्को विरोध गर्दै आएका थिए ।







