काठमाडौँ । ललितपुरको महांकाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेले राज्यबाट पाउने मासिक तलबभत्ता नलिने घोषणा गरेकी छन्। उनले उक्त रकम सामाजिक सेवाका विभिन्न क्षेत्रमा खर्च गर्ने बताएकी हुन्।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पारेर उपाध्यक्ष गोलेले आफूले अबदेखि राज्यबाट प्राप्त हुने तलबभत्ता नलिने र उक्त रकम जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, किसान, शिक्षक, युवा तथा स्वास्थ्य स्वयंसेविका लगायतका सामाजिक क्षेत्रमा खर्च गरिने घोषणा गरिन्। उनले महिला दिवसको अवसर पारेर आमा, दिदीबहिनीलाई साक्षी राख्दै यस्तो निर्णय गरेको बताइन्।
त्यसै गरी, आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधनसमेत सामाजिक सेवाका लागि प्रयोग गरिने उनले जानकारी दिइन्। परिवारमा सहारा नभएका जेष्ठ नागरिक तथा अति विपन्न अपाङ्गता भएका नागरिकहरूलाई पालिका र वडा कार्यालयसम्म सेवा लिन आउन–जान तथा मासिक वृद्ध भत्ता लिन पालिका केन्द्रस्थित बैंकसम्म पुग्न सहजीकरण गरिने उनले बताइन्।
उक्त सेवा महांकाल गाउँपालिकाभित्रका नागरिकले मात्र उपभोग गर्न पाउने व्यवस्था गरिनेछ। यसका लागि गाउँपालिकाको महिला तथा बालबालिका शाखाले सम्बन्धित वडा अध्यक्ष, जनप्रतिनिधि, सचिव तथा स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरेर सेवा सञ्चालन गर्ने जनाइएको छ।
उपाध्यक्ष गोलेले नागरिकको दुःख–सुखमा साथ दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै भनेकी छन्, “खुलेर भन्नुहोस्, तपाईँको आपत्–विपत् र दुःख–पीडामा म सधैँ तपाईँहरूसँगै रहनेछु।”







