नेपालगञ्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको दस्ता निर्माण गरेको हो ।
वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टंक गुरुङका अनुसार डढेलो लाग्ने क्षेत्रका पहिचान गरी दस्ता निर्माण गरिएको हो । खास गरी शम्शेरगञ्ज क्षेत्रका लागि १२ र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गत रहेको भूवरभवानी चक्ला वनका लागि १२ जनाको आगो नियन्त्रण दस्ता बनाइएको उनले जानकारी दिए।
सूचना अधिकारी गुरुङले जनचेतनामूलक कार्यक्रमसहित विभिन्न कार्यक्रम गर्न वन उपभोक्ता महासंको समन्वयमा डढेलो नियन्त्रणका कार्यक्रम ल्याइएको उल्लेख गर्दै छ हजार लिटर पानीको क्षमता भएको वारुणयन्त्र तयारी अवस्थामा राखिएको बताए। “हामीसँग भएको स्रोत र साधनका हिसाबले हामी डढेलो नियन्त्रण गर्न तयारी अवस्थामा बसेका छौँ”, उनले भने ।
गुरुङले आगलागी भएपछि दस्ताले आगो नियन्त्रण तथा उद्धारका काम गर्ने उल्लेख गरे । बाँकेमा गत वर्ष डढेलो नलागे पनि अघिल्लो वर्ष डढेलो लाग्दा ठूलो मात्रामा वन्यजन्तु मरेका थिए ।
वन डिभिजन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ताले डढेलो नियन्त्रणका लागि ‘अग्नि नियन्त्रण हेरालु’ चार वर्षका लागि नियुक्त गरिएको जानकारी दिँदै उनीहरूले आगलागी हुन नदिन योजनाबद्ध काम गर्ने बताए । उनले शम्शेरगञ्ज सब डिभिजन वन कार्यालयअन्तर्गतको वन र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतको वनमा छ/छ जनाको अग्निनियन्त्रण हेरालु रहेका उल्लेख गरे ।
प्रमुख अग्निनियन्त्रण हेरालुले फायरलाइन सफा गर्नुका साथै त्यसको संरक्षण गर्ने गुस्ताले जानकारी दिए । उनका अनुसार जिल्लामा १०० किलोमिटर फायरलाइन रहेकामा त्यसलाई बढाएर १२० किलोमिटर पुर्याइएको छ । उनले शम्शेरगञ्जमा रु २५ लाखको लागतमा २० हजार लिटर क्षमताको ‘ओभर वाटर टयांक’ समेत निर्माण भएको उल्लेख गर्दै डढेलो नियन्त्रणमा त्यसले पनि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।







