काठमाडौँ । तनहुँ जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा तीनवटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा दुई टिपर र एक जेसीभी रहेका छन्।
गएराति बन्दिपुर गाउँपालिका-६ स्थित बगरखोला क्षेत्रबाट ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी स्रोतले जनाएको छ। अवैध रूपमा गिट्टी लोड गरी ढुवानी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कारबाही अघि बढाएको हो।
इलाका प्रहरी कार्यालय सारङघाटबाट परिचालित टोलीले सञ्चालन गरेको उक्त अपरेसनका क्रममा लु.१ क ३२४१ नम्बरको जेसीभी, ग.१ क ५४४२ नम्बरको टिपर र ग.१ ख ७४३६ नम्बरको अर्को टिपर नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक प्रक्रिया पूरा गर्न बन्दिपुर गाउँपालिकामा बुझाइएको प्रहरीले जानकारी दिएको छ। अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने पनि सम्बन्धित निकायले जनाएको छ।







