काठमाडौँ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक राजधानीको सिंहदरबारमा सम्पन्न भएको छ।
बैठक अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्षमा बसेको थियो। संसद् सचिवालयका अनुसार बैठकमा भोलिदेखि सुरु हुन लागेको २० औँ राष्ट्रिय सभा अधिवेशनको पूर्वतयारी, उपाध्यक्ष तथा सभापतिको निर्वाचन प्रक्रिया, नवनिर्वाचित सदस्यहरूको समितिमा विभाजन र सदस्य मनोनयनसम्बन्धी विषयमा छलफल भएको छ।
साथै बैठकमा आगामी अधिवेशनको कार्यसूची, सीट व्यवस्थापन, प्रस्तावित कार्यतालिका र कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयनबारे पनि विचार विमर्श गरिएको छ।
अध्यक्ष दाहालले बैठकमा सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकामा आधारित सहकार्यको अपेक्षा व्यक्त गर्दै अधिवेशन सफल बनाउने दिशामा सबैलाई सहजीकरणको लागि आग्रह गरे।
बैठकमा सोविता गौतम सहित कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसद् सचिवालयका उच्च अधिकारीहरू र राष्ट्रिय सभाका सचिवहरू उपस्थित रहेका थिए।







