काठमाडौँ । नेपाल र जोर्डनबीच कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्री शिशिर खनाल र जोर्डनका उपप्रधानमन्त्री तथा परराष्ट्र एवं आप्रवासी मामिला मन्त्री आयमान सफादीबीच टेलिफोन वार्ता सम्पन्न भएको छ।
वार्ताका क्रममा जोर्डनका उपप्रधानमन्त्री सफादीले मन्त्री खनाललाई हालै जिम्मेवारी सम्हालेको अवसरमा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
दुवै देशका परराष्ट्र नेतृत्वबीच भएको संवादमा नेपाल-जोर्डन सम्बन्धका विविध पक्ष, आपसी हितका सम्भावित क्षेत्र तथा सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको उल्लेख गरिएको छ। दुवै पक्षले द्विपक्षीय मात्र नभई बहुपक्षीय कूटनीतिक मञ्चहरूमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।
वार्ताका क्रममा मन्त्री खनालले मध्यपूर्व क्षेत्रमा जारी तनावपूर्ण परिस्थितिका बीच जोर्डन सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्न खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका थिए।
वैदेशिक रोजगारीका दृष्टिले जोर्डन नेपाली श्रमिकका लागि महत्वपूर्ण गन्तव्य मुलुकका रूपमा रहँदै आएको सन्दर्भमा उक्त कूटनीतिक संवादलाई थप महत्वका साथ हेरिएको छ।








