काठमाडौँ । मनोहरा खोलाछेउको सुकुम्वासी बस्ती हटाउने अभियानअन्तर्गत विद्यालयका सामग्रीहरू सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। बस्ती हटाउने कार्यसँगै सो क्षेत्रमा रहेको शैक्षिक संस्थाको सामग्री व्यवस्थापन गरिएको हो।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१, मनोहरा क्षेत्रमा रहेको सरस्वती आधारभूत विद्यालयका फर्निचर, पाठ्यसामग्री तथा स्टेशनरी सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्थानान्तरण गरेको छ।
उक्त विद्यालय सरकारी स्वामित्वको जग्गामा रहेको पाइएपछि स्थान खाली गराउने प्रक्रिया अघि बढाइएको बताइएको छ। त्यसअनुसार विद्यालयसँग सम्बन्धित सामग्रीहरू व्यवस्थित रूपमा सारिएको जनाइएको छ।
हाल मनोहरा क्षेत्रको बस्ती हटाउने कार्यमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि शनिबारको दिन सुरक्षाकर्मीमाथि अवरोध र आक्रमण भएको घटनापछि आइतबार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अभियानलाई अघि बढाइएको स्रोतले जनाएको छ।







