बेइजिङ । चीनको हुबेइ प्रान्तस्थित लिचुआन सहरमा आयोजित अन्तर्राष्ट्रिय चिया महोत्सवअन्तर्गत नेपाली अर्थोडक्स कालो चिया ‘एक सुइरो’ को स्वाद परीक्षण तथा ब्रान्डिङ कार्यक्रम सम्पन्न भएको छ।
नेपाली राजदूतावासको सहकार्यमा भएको उक्त गतिविधि एसिया–अफ्रिका ब्ल्याक टी एक्सचेन्ज महोत्सवको हिस्सा रहेको हो, जुन मार्च २४ देखि २६ ९वैशाख ११ देखि १३० सम्म सञ्चालन भइरहेको छ।
महोत्सवको उद्घाटन अवसरमा करिब दुई सयभन्दा बढी देशी–विदेशी प्रतिनिधिहरूको उपस्थितिमा नेपाली चिया विशेष रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपालसहित पाँच देशका चियाहरू प्रदर्शन गरिए पनि सहभागीहरूले नेपाली चियाको गुणस्तर र स्वादप्रति विशेष सकारात्मक प्रतिक्रिया दिएका थिए।
कार्यक्रम चीन चिया उद्योगसम्बन्धी संस्था, बेल्ट एण्ड रोड इनोभेटिभ संस्था तथा चिनियाँ सरकारी निकायहरूको संयुक्त समन्वयमा आयोजना गरिएको हो। नेपालबाट सन् २०२४ मा इलाममा उत्पादित ‘एक सुइरो’ चिया प्रस्तुत गरिएको थियो, जुन पात नभई कोपिला (मुनो) बाट तयार हुने सुनौलो रङको ब्ल्याक टीका रूपमा परिचित छ।
उद्घाटन सत्रमा नेपाली राजदूतावासकी आर्थिक मामिला प्रमुख पवर्ती अर्यालले नेपालको चिया उत्पादन प्रणाली, भौगोलिक विशेषता र गुणस्तरीय मापदण्डबारे प्रस्तुति दिएकी थिइन्। उनका अनुसार नेपालमा १५०० देखि ७००० फिटसम्मको उचाइमा उत्पादन हुने चिया जैविक र अर्थोडक्स मानकअनुसार तयार गरिन्छ, जसमा उच्च एन्टिअक्सिडेन्ट गुणसमेत पाइने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्दै गएको छ।
उनले नेपाली चियाप्रतिको अन्तर्राष्ट्रिय आकर्षण केवल स्वादमा सीमित नभई हिमाली वातावरण, जैविक उत्पादन प्रणाली, वातावरण संरक्षण र चिया क्षेत्रमा संलग्न किसान तथा महिलाप्रतिको सम्मानसँग समेत जोडिएको उल्लेख गरिन्। साथै, इलामदेखि लुम्बिनीसम्म जोड्ने ‘टी हर्स रोड’ अवधारणाले चिया संस्कृतिलाई विश्व शान्तिसँग जोडेर अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न सक्ने सम्भावना रहेको धारणा पनि व्यक्त गरिन्।
उनका अनुसार चिया उत्पादनको आधुनिकीकरण, विविधीकरण, औद्योगिक विकास र प्रविधिको उपयोग दिगो विकासका लागि महत्वपूर्ण आधार हुन्। नेपाल–चीनबीचको सम्बन्धलाई चिया संस्कृतिमार्फत थप सुदृढ बनाउन सकिने उनको भनाइ थियो।
कार्यक्रमको नेतृत्व चिनियाँ चिया समिति एसोसिएसनका मानार्थ अध्यक्ष तथा चीन कृषि विज्ञान एकेडेमीका पूर्व प्रमुख चाइ हु छु ले गरेका थिए। महोत्सवका क्रममा लिचुआन क्षेत्रका चिया बगान, प्रशोधन उद्योग र चिया पर्यटन पूर्वाधारहरूको अवलोकनसमेत गरिएको छ।
विभिन्न देशका सरकारी अधिकारी, चिया उद्योग प्रतिनिधि र विज्ञहरूको सहभागिता रहेको कार्यक्रममा ब्ल्याक टीको अन्तर्राष्ट्रिय ब्रान्डिङ, अनुसन्धान र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो। साथै, कोरिया लगायतका मुलुकका विशेषज्ञहरूले चिया क्षेत्रको विकासका लागि अन्तरदेशीय सहकार्य विस्तार आवश्यक रहेको धारणा राखेका थिए।
महोत्सव अवधिभर चियामा आधारित विविध उत्पादन तथा पर्यटन प्रवर्द्धन गतिविधिहरू समेत सञ्चालन भइरहेका छन्, जसअन्तर्गत कोल्ड टी, चिया आधारित पेय पदार्थ, वाइन तथा चिया पर्यटन मार्गहरूको अवलोकन कार्यक्रम समावेश गरिएको छ।







