काठमाडौँ । अध्यागमन विभागले विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा पदयात्रा गराउँदा अनिवार्य रूपमा पूर्वअनुमति लिन ट्रेकिङ एजेन्सीहरूलाई सचेत गराएको छ।
विभागका प्रवक्ता टीकाराम ढकालद्वारा बुधबार जारी विज्ञप्तिमा केही एजेन्सीहरूले नियम विपरीत गतिविधि गर्दै आएको पाइएको उल्लेख गरिएको छ। विशेष गरी रेस्क्युको बहाना बनाएर कर्मचारीमाथि दबाब सिर्जना गर्ने, पूर्वस्वीकृति नलिई पदयात्रा गराउने र स्थानीय प्रशासनबाट पहिचान भएपछि मात्र अनुमति प्रक्रिया सुरु गर्ने प्रवृत्ति देखिएको जनाइएको छ।
यस्ता गतिविधिका कारण निर्दोष विदेशी पदयात्रीसमेत कारबाहीको दायरामा पर्न सक्ने जोखिम रहेको विभागले जनाएको छ। साथै, यसले नेपालको पर्यटन क्षेत्रको विश्वसनीयता र अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ।
विभागले निर्धारित प्रक्रिया पालना गर्दै मात्र विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा पदयात्रा गराउन पुनः आग्रह गरेको छ। भविष्यमा नियम उल्लङ्घन भएको पाइएमा विद्यमान अध्यागमन कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ।
हाल विदेशी नागरिकका लागि १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न विभागबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ। समूहगत रूपमा ट्रेकिङ एजेन्सीमार्फत जाने पर्यटकका लागि अनुमति सेवा सरल, छिटो र प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीमार्फत सेवा विस्तार भइरहेको जानकारी दिइएको छ।
यस्तै, सातामा दुई दिन सार्वजनिक बिदा लागू गरिएको अवस्थामा पनि शनिबार बाहेकका अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अनुमति सेवा उपलब्ध गराइने निर्णय गरिएको विभागले जनाएको छ।








