काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला र नाम्सी खोला आसपासका पहिरो प्रभावित क्षेत्रमा दीर्घकालीन रोकथाम कार्यका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आज सार्वजनिक सूचना जारी गर्दै सो कार्यका लागि बोलपत्र आह्वान गरेको हो ।
कार्यालयका अनुसार पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि करिब २५ करोड रुपैयाँको बजेट व्यवस्था गरिएको छ । यो रकम आर्थिक वर्ष २०८२-८३ र २०८३-८४ मा खर्च गर्न मिल्ने गरी विनियोजन भएको पनि जनाइएको छ ।
सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार पहिरो रोकथामका संरचनात्मक कार्यका लागि जेठ १८ गतेसम्म आवेदन दिने समय सीमा तोकिएको छ । उनका अनुसार बर्खा तथा सुक्खायाम दुवै अवस्थामा देखिने जोखिमलाई ध्यानमा राखेर दीर्घकालीन समाधानका उपाय अघि बढाउन लागिएको हो ।
प्राविधिक योजना अनुसार रक एंकरिङ, रक नेटिङलगायत प्रविधि प्रयोग गरी भिरालो चट्टानी क्षेत्रलाई स्थिर बनाउने काम गरिनेछ ।
यो सडक खण्डमा विस्तार तथा पुल निर्माणका क्रममा भित्तो काटिँदा कमजोर चट्टानहरू खस्ने समस्या बारम्बार देखिँदै आएको छ, जसका कारण वर्षेनी पहिरो जाने गरेको छ । विशेष गरी तुइन खोला क्षेत्रमा १०५ मिटर माथिबाट खस्ने पहिरोले करिब १६५ मिटर लम्बाइसम्म असर गर्ने गरेको विवरण छ । गत वर्ष असोज ३ र ७ गते ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भई यातायात सञ्चालन पुनः सुचारु गर्न करिब तीन दिन लागेको थियो ।
यात्रुलाई रातको समयमा सम्भावित ढुंगा खस्ने वा पहिरोको अवस्था सजिलै देख्न सकिने बनाउन दुईवटा फ्लड लाइट जडान गरिएको छ भने निगरानीका लागि सिसी क्यामेरा पनि राखिएको छ ।
राजधानी काठमाडौँ, पोखरा लगायत प्रमुख सहरलाई जोड्ने महत्वपूर्ण मार्ग मानिने यस सडक खण्डमा दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने अनुमान गरिएको छ ।
कुल ३६ किलोमिटर लामो यस सडकमा २६ स्थान मध्यम, १४ स्थान सामान्य र ९ स्थान उच्च जोखिमयुक्त रहेको पहिचान गरिएको छ, जसमा तुइन खोला र नाम्सी खोला क्षेत्र सबैभन्दा संवेदनशील मानिएका छन् ।








