काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले जेन जेड आन्दोलनसँग सम्बन्धित घटनामा उच्च पदस्थ व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि नबढेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध मुद्दा दर्ता प्रक्रिया किन अघि नबढेको हो भन्ने प्रश्न उठाए। प्रसाईँले शहीदप्रति श्रद्धाञ्जली दिनु मात्र पर्याप्त नभई राज्यको व्यवहारबाट पनि न्याय सुनिश्चित हुनुपर्ने बताए।
उनका अनुसार जेन जेड आन्दोलनसँग सम्बन्धित घटनामा जिम्मेवार ठहरिएका भनिएका व्यक्तिहरूमाथि मुद्दा दायर गर्न किन ढिलाइ भइरहेको हो भन्ने स्पष्टता आवश्यक छ। प्रमाणको अभाव हो वा प्राथमिकतामा नपरेको कारण हो भन्ने प्रश्न उनले सरकारसमक्ष राखे।
प्रसाईँले विगतका आयोगहरू-मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदन कार्यान्वयन नभई थन्किएको उदाहरण उल्लेख गर्दै राज्य संयन्त्रको पुरानै प्रवृत्ति दोहोरिन नहुने बताए।
उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति न्याय सुनिश्चित नभए इतिहास दोहोरिने खतरा रहने चेतावनीसमेत दिए।







