काठमाडौँ। वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरक-फरक मुलुक पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-२ घर भई हाल काठमाडौँको टोखा बस्ने ३७ वर्षीय सागर गौतम हुनुहुन्छ । उहाँले युएई पठाउने भन्दै पीडितबाट चार लाख ५८ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।
त्यसैगरी, न्युजिल्यान्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ ठगी गर्ने दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम र क्यानडा पठाउने प्रलोभनमा २४ लाख रुपैयाँ ठगी गर्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ की ३७ वर्षीया सनम गुरुङ पक्राउ परेका छन्।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाउने भन्दै रकम असुल गरेर उनीहरू लामो समयदेखि सम्पर्कविहीन भएका थिए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।







