काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स छनोट प्रतियोगितामा चीनसँग पराजित हुँदै बाहिरिएको छ। निर्णायक खेलमा अन्तिम बलसम्म पुगेको प्रतिस्पर्धामा चीनले विजय हासिल गरेपछि नेपालको एसियन गेम्समा स्थान बनाउने सपना अधुरै रह्यो।
वर्षाका कारण खेललाई सात-सात ओभरमा सीमित गरिएको थियो। पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएर ५० रन बनाएको थियो। त्यसपछि डकवर्थ-लुइस (डीएल) पद्धतिअनुसार चीनले ४३ रनको लक्ष्य पाएको थियो।
नेपालको ब्याटिङ अपेक्षाअनुसार चल्न सकेन। टोलीले २६ रन जोड्दासम्म पाँच विकेट गुमाएको थियो। सम्झना खड्काले ५, पूजा महतोले १, सोनी पाख्रिनले ५, रुबी पोद्दारले कुनै रन बनाउन सकिनन् भने कप्तान इन्दु बर्माले ११ रनको योगदान दिइन्। कठिन परिस्थितिमा कविता कुँवरले १० बलमा २२ रन बनाउँदै नेपालको स्कोर उकास्ने प्रयास गरिन्।
जवाफी इनिङ्समा चीनकी कप्तान मिङयु झुले १३ बलमा १८ रन जोड्दै टोलीलाई लक्ष्यतर्फ अग्रसर गराइन्। खेलको नतिजा अन्तिम ओभरमा पुगेर तय भएको थियो।
अन्तिम ओभरमा चीनलाई जितका लागि सात रन आवश्यक थियो। नेपाली बलर सरिता मगरले पहिलो पाँच बलमा पाँच रन मात्र खर्चिँदै एक विकेट लिएकी थिइन्। तर अन्तिम बलमा दुई रन आवश्यक रहेको अवस्थामा काइ युजीले चौका प्रहार गर्दै चीनलाई रोमाञ्चक जित दिलाइन्।
यस नतिजासँगै चीनले एसियन गेम्समा स्थान सुरक्षित गरेको छ भने नेपाल छनोट चरणबाटै बाहिरिएको छ।







