काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रदेश अधिवेशनलाई लक्षित गर्दै पाँचवटा प्रदेशका लागि केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी तोकेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले अधिवेशन व्यवस्थापन, समन्वय तथा सम्बन्धित प्रदेश निर्वाचन आयोग गठन प्रक्रियालाई सहज बनाउन केन्द्रीय सदस्यहरूलाई प्रदेशगत रूपमा खटाउने निर्णय गरेको हो।
यसअघि सोमबार बसेको पार्टी सचिवालय बैठकले आयोग प्रमुखमा भुवन केसीलाई जिम्मेवारी दिएको थियो। सो निर्णयपछि बसेको आयोग बैठकले प्रदेश स्तरको तयारीलाई औपचारिक रूपमा अघि बढाएको हो।
आयोगले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्बन्धमा भने आगामी बैठकमार्फत निर्णय गरिने जनाइएको छ।
पार्टीका अनुसार तोकिएका प्रतिनिधिहरूले सम्बन्धित प्रदेश नेतृत्वसँग समन्वय गर्दै अधिवेशन तथा निर्वाचनसम्बन्धी सबै प्रक्रिया सञ्चालन गर्नेछन्।
आयोगद्वारा सार्वजनिक गरिएको विवरणअनुसार कोशी प्रदेशको जिम्मेवारी नारायण प्याकुरेल, मधेस प्रदेशको कुमार आनन्द मिश्र, बागमती प्रदेशको सुमित्रा पण्डित, गण्डकी प्रदेशको डा. राम गुरुङ र लुम्बिनी प्रदेशको गोकुल सापकोटालाई दिइएको छ।








