काठमाडौँ । नेपाल प्रहरीले झुट्टा विवरण पेश गरी नागरिकता बनाएको (नागरिकता सम्बन्धी कसुर) मुद्दामा वडा अध्यक्ष र वडा सचिवसहित ४ जनालाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले दाङको राजपुर गाउँपालिका ४ का वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), सोही वडाका वडा सचिव राजेश कुमार कहार, तत्कालीन कार्यालय सहायक मिना चौधरी र राजपुर गाउँपालिका ४ का आलम जोल्हालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्न अयोग्य गैर नेपाली नागरिक आलम जोल्हालाई जिल्ला दाङ राजपुर गाउँपालिका–४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानूनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा संलग्न रहेको खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







