काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत भएको बताएकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले मन्त्रीहरूले नै कानुनको सम्मान नगरे सर्वसाधारणले कसरी कानुन पालना गर्छन् भन्ने प्रश्न उठाइन्। उनले मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कानुनी शासनको मर्म विपरीत हुने टिप्पणी गरिन्।
‘उहाँले खुट्टा भाँच्ने भन्नुभयो, देशमा नियम कानुन छैन रु उहाँहरूले देशको कानुन मान्नुभएन भने कसले मान्छ रु’ सांसद यादवले भनिन्।
नौबिसे-मलेखु सडक खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारप्रति लक्षित गर्दै मन्त्री लम्सालले दिएको अभिव्यक्ति सार्वजनिक भएपछि त्यसको व्यापक चर्चा भएको छ। मन्त्री लम्सालले एक कार्यक्रममा ‘काम नगर्ने ठेकेदारलाई खोजेर ल्याउनू, फेरि काम गरेन भने खुट्टा भाँच्दिनू’ भन्ने अभिव्यक्ति दिएका थिए।
सांसद यादवले प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको जवाफ सम्बन्धित मन्त्रीले दिन नमिल्ने बताउँदै सरकारभित्र जिम्मेवारी र जवाफदेहिताको स्पष्टता आवश्यक रहेको पनि उल्लेख गरिन्। उनले जनप्रतिनिधि र मन्त्रीहरूबाट कानुनसम्मत, संयमित र जिम्मेवार अभिव्यक्ति आउनुपर्नेमा जोड दिँदै राज्यका पदाधिकारीले कानुनी शासन र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण गर्नुपर्ने बताइन्।






