काठमाडौँ । किस्ट शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमा आबद्ध सेवाग्राहीका लागि उपचार सेवामा विशेष सहुलियतको व्यवस्था लागू गरेको छ।
अस्पतालका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले बहिरंग (ओपिडी) तथा भर्ना भई (आइपिडी) उपचार गराउँदा लाग्ने खर्चमध्ये ८० प्रतिशत रकम कोषबाट व्यहोर्नेछ भने बाँकी २० प्रतिशत खर्च सेवाग्राही स्वयंले बेहोर्नुपर्ने व्यवस्था रहेको छ।
यस्तै, कर्मचारी सञ्चय कोषको स्वास्थ्य योजना कार्यक्रमअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गराउने सेवाग्राहीले सामान्य प्रकृतिका रोगको उपचारमा वार्षिक एक लाख रुपैयाँसम्म तथा घातक रोगको उपचारमा सेवा अवधिभर अधिकतम १० लाख रुपैयाँसम्म उपचार खर्चको परिपूर्ति पाउने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष अभिषेक थापाका अनुसार आन्तरिक चिकित्सा, शल्यचिकित्सा, स्त्री तथा प्रसूति, बालरोग, हाडजोर्नी तथा नसारोग, मुटु, मिर्गौला र आँखा रोगलगायत विभिन्न विशेषज्ञ सेवामा उपचार गराउँदा यो सुविधा उपलब्ध हुनेछ।
उक्त सहुलियत प्राप्त गर्न सम्बन्धित कोषबाट जारी गरिएको परिचयपत्रसहित अस्पतालमा रहेको सहायता कक्षमा सम्पर्क गर्नुपर्ने अस्पतालले जनाएको छ।







