सर्लाही। सर्लाहीको बसवरिया गाउँपालिका–१ मानपुरमा गत असार ७ गते भएको ५३ वर्षीय होस नारायण राय यादवको हत्या प्रकरणमा प्रहरीले छिमेकी युवालाई पक्राउ गर्दै घटनाको रहस्य सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रारम्भिक अनुसन्धानबाट २५ वर्षीय सन्तोष कुमार रायले आफ्नै बुबा र भिनाजुलाई हत्या मुद्दामा फसाउने उद्देश्यले छिमेकीको हत्या गरेको खुलेको जनाएको हो।
सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलका अनुसार पक्राउ परेका सन्तोषले प्रारम्भिक सोधपुछका क्रममा अपराध स्वीकार गरेका छन्। उनको बयानअनुसार घटनाको अघिल्लो दिन मोबाइलको विषयलाई लिएर बुबासँग विवाद भएको थियो। साथै बुबा र भिनाजुले बेला–बेला पैसा नदिने तथा सुधार केन्द्र पठाइदिने धम्की दिने गरेकाले उनीहरूप्रति रिस पलाएको बताएका छन्।
प्रहरीका अनुसार सोही रिसको बदला लिन तथा आफ्नै बुबा र भिनाजुलाई हत्या मुद्दामा फसाउने योजनासहित उनले छिमेकी होस नारायण राय यादवको हत्या गरेको बयान दिएका छन्।
अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको ना ४५ प २६८५ नम्बरको मोटरसाइकल असार ८ गते नवलपुर–मलंगवा सडकखण्डमा बेवारिसे अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानले उक्त मोटरसाइकल छिमेकी हरिन्द्र राम यादवको रहेको र अभियुक्तले आफैँ चोरी गरी हत्या गर्न प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ। हत्यामा प्रयोग गरिएको हँसिया भने बरहथवा नगरपालिका–१३ स्थित सडकछेउको खेतमा फालेको अभियुक्तको बयान रहेको र त्यसको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
घटनापछि विभिन्न स्थानमा लुक्दै हिँडेका अभियुक्तलाई असार १६ गते बरहथवा नगरपालिका–७ स्थित बरहथवा बजार नजिक स्थानीयको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध कर्तव्य ज्यान र चोरी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत सर्लाहीबाट पहिलो पटक सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असार ७ गते बिहान करिब १:४५ बजे घरमा सुतिरहेका होस नारायण राय यादवमाथि धारिलो हतियार प्रहार गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि बरहथवा नगर अस्पताल लगिए पनि बिहान ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट आईटीसहितको विशेष टोली तथा मधेश प्रदेश प्रहरी कार्यालयको के–९ शाखाको तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो। मृतकसँगै सुतेका १४ वर्षीय छोरा, प्राविधिक अनुसन्धान, सीसीटीभी फुटेज तथा के–९ टोलीबाट प्राप्त प्रमाणका आधारमा घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ। साथै खराब आचरणका कारण अभियुक्त यसअघि पनि सुधार केन्द्रमा बसिसकेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।






