काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको पछिल्लो कूटनीतिक गतिविधि र विदेश सम्बन्धका विषयमा जानकारी गराएका छन् ।
सिंहदरबारमा बसेको बैठकमा मन्त्री खनालले छिमेकी मुलुक भारत र चीनको भ्रमणका क्रममा भएका छलफल, उपलब्धि तथा ती भ्रमणले नेपालको बाह्य सम्बन्धमा पारेका प्रभावबारे समितिका सदस्यहरूलाई अवगत गराएका हुन् ।
उनले समसामयिक अन्तर्राष्ट्रिय विषय, नेपालको परराष्ट्र नीति र विभिन्न मुलुकसँगको सम्बन्ध विस्तारका सन्दर्भमा समेत समितिमा धारणा राखेका थिए ।
बैठकमा परराष्ट्रमन्त्रीसँगै परराष्ट्र मन्त्रालयका सचिवको पनि सहभागिता रहेको थियो । समितिले परराष्ट्रसम्बन्धी विषयमा मन्त्रालयबाट प्राप्त जानकारीलाई छलफलको विषय बनाएको हो ।







