काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सेवा सञ्चालनका क्रममा प्रचलित नियम र मापदण्डको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ। यात्रु सेवा र यातायात क्षेत्रको प्रतिष्ठामा असर पुग्ने गतिविधि नियन्त्रण गर्न महासंघले व्यवसायीलाई सचेत गराएको हो।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौँ उपत्यकासहित देशभर सञ्चालन हुने सार्वजनिक सवारीले यात्रुमैत्री, सुरक्षित र व्यवस्थित सेवा दिनुपर्ने उल्लेख गरिएको छ।
महासंघले यात्रुलाई गन्तव्यसम्म नपुर्याउने, तोकिएकोभन्दा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुप्रति असहयोगी व्यवहार गर्ने, निर्धारित बस स्टपबाहिर यात्रु चढाउने वा ओराल्ने, यात्रु तानातान गर्ने तथा सवारीको सरसफाइमा लापरबाही गर्ने जस्ता गतिविधिबारे निरन्तर गुनासो आइरहेको जनाएको छ।
त्यस्तै, सवारीमा डस्टबिनको व्यवस्था नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने तथा आवश्यक कागजात अद्यावधिक नराख्ने प्रवृत्तिप्रति पनि महासंघले ध्यानाकर्षण गराएको छ। यस्ता व्यवहारले सार्वजनिक यातायात क्षेत्रप्रति आम नागरिकमा नकारात्मक धारणा बन्ने अवस्था सिर्जना भएको महासंघको निष्कर्ष छ।
महासंघले सार्वजनिक यातायात क्षेत्रमा ठूलो लगानी रहेको र राज्यलाई उल्लेख्य राजस्व योगदान पुग्ने भएकाले यस व्यवसायलाई थप मर्यादित, लगानीमैत्री र यात्रुमैत्री बनाउन सबै व्यवसायी जिम्मेवार हुनुपर्ने जनाएको छ।
सूचनामार्फत नियम विपरीतका गतिविधि तत्काल सच्याई आधुनिक प्रविधिमैत्री तथा गुणस्तरीय सेवा सञ्चालन गर्न आह्वान गरिएको छ। अन्यथा सम्बन्धित निकायबाट सवारीसाधन, व्यवसायी तथा मजदुरमाथि कानुनबमोजिम कारबाही हुन सक्ने चेतावनी पनि महासंघले दिएको छ।







