काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कुवाडी-क्युडी भित्री कच्ची सडकमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ः२५ बजे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा हिमाली गाउँपालिका-२ नातीखोलाका २५ वर्षीय चालक जनवीर बुढासहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूमा हिमाली गाउँपालिका-२ का ४० वर्षीय धर्मलाल बुढा र ३१ वर्षीया मिजरा बुढा रहेका छन्। त्यसैगरी हुम्लाको ताजाकोट गाउँपालिका-५ निवासी ४० वर्षीय अम्मर सिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा तथा करिब ९ वर्षीया सुस्मा बुढा पनि दुर्घटनामा घाइते भएका छन्।
प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







