काठमाडौँ। नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको एकता नेतृत्वको इच्छाशक्तिमा निर्भर रहने बताएका छन्। पार्टी सभापति गगनकुमार थापाले पहल नगरेसम्म संगठनात्मक एकता सम्भव नहुने उनको भनाइ छ।
पार्टीको संस्थापन इतर समूहले ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले सबै पक्षलाई समेट्ने प्रयास गर्नुपर्ने धारणा राखे।
उनले आफूहरू कुनै पनि अवस्थामा निष्क्रिय नबस्ने स्पष्ट गर्दै पार्टीभित्र युवालाई अग्रपंक्तिमा राखेर अघि बढ्ने बताए। आफूहरू नेतृत्व प्राप्तिका लागि होइन, संगठनको संरक्षण र सुदृढीकरणका लागि सक्रिय रहेको उल्लेख गर्दै यसबारे भ्रममा नपर्न आग्रह गरे।
खड्काले पार्टीको सम्मान र सिद्धान्तका विषयमा सम्झौता गर्न नसकिने बताउँदै विगतमा पनि लोकतान्त्रिक मूल्य र मान्यताका लागि संघर्ष गरिएको स्मरण गरे। सम्मानको विषयमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने उनको भनाइ थियो।
उनले पार्टी एकताको पक्षमा उठाइएका प्रस्तावलाई ‘बार्गेनिङ’को संज्ञा दिइएकोप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनबाट बनेको नेतृत्व र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई समेटेर संगठनलाई पूर्णता दिनुपर्ने धारणा व्यक्त गरे।
खड्काले विशेष महाधिवेशन पार्टी विधान अनुकूल नभएको टिप्पणी गर्दै पार्टीभित्रका सबै पक्षलाई समेट्ने पहल सभापतिबाट नभएसम्म संगठनात्मक एकता कायम हुन कठिन हुने बताए।







