काठमाडौँ । भारतको उत्तर पूर्वी राज्य असममा जारी विनाशकारी बाढीका कारण हालसम्म ६२ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार बाढीबाट राज्यका ११ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् ।
हाल राज्यका २५ जिल्लाहरू बाढीको चपेटामा परेका छन् र स्थिति अझै गम्भीर बनेको छ । मुख्यमन्त्री शर्माले दिएको जानकारीअनुसार २ हजार १०० भन्दा बढी गाउँहरू जलमग्न भएका छन् । बाढी प्रभावित क्षेत्रका ११ लाखभन्दा बढी मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ ।
उद्धार र राहत कार्यका लागि स्थानीय प्रशासनले प्रभावित जिल्लाहरूमा १७० वटा राहत शिविर र १ हजार ३०४ वटा राहत वितरण केन्द्रहरू स्थापना गरेको छ ।
ती शिविरहरूमा हाल ४५ हजार ४ जनाले आश्रय लिइरहेका छन् भने उनीहरूलाई खाद्य सामग्री र अन्य आवश्यक सुविधा उपलब्ध गराइएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तिब्र पारिएको छ ।
केन्द्रिय जल आयोगका अनुसार व्रह्मपुत्र नदी र यसका विभिन्न सहायक नदीहरूमा पानीको बहाव खतराको सतहभन्दा माथि पुगेको छ । यसैगरी, असम राज्य विपद् व्यवस्थापन प्राधिकरणले बाढीका कारण ५६ हजार ६०६ हेक्टर जमिनमा लगाइएको बाली पूर्ण रूपमा डुबानमा परेको जनाएको छ । असममा मनसुनको समयमा वर्षेनी बाढी र डुबानको समस्या निम्तिने गरेको छ, जसले ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ ।






