काठमाडौँ । नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिनाले प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले नेपालको न्यायपालिका र न्यायाधीशमाथि प्रश्न उठाएको भन्दै एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचलाई स्पष्टीकरण सोध्न दिएको निर्देशन आपत्तिजनक रहेको बताएका हुन् । उनले नेपालको स्वतन्त्रता र निष्पक्षतामाथि अन्तर्राष्ट्रिय संस्थाले बोल्नुपर्ने अवस्था किन आयो ? भन्ने प्रश्न महत्वपूर्ण रहेको बताए ।
समितिले बुधवार सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब दिने आशयको संयुक्त विज्ञप्ति जारी गरेको विषयमा छलफल गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत ती संस्थासँग आधिकारिक स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको थियो ।
उनले भने, ‘न्याय र मानव अधिकार कुनै राज्यको आन्तरिक विषय मात्र होइन विश्वव्यापी सरोकारको विषय हो । अन्तर्राष्ट्रिय न्यायिक संस्थालाई तर्साउने वा कठघरामा उभ्याउने कुराले हाम्रो लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास अझै कमजोर बनाउँछ ।’
उनले प्रतिनिधि सभाको काम सरकारको बचाउ गर्नु नभई सरकारलाई जबाफदेही बनाउनु रहेको पनि बताएका छन् ।






