काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टी विधानको सीमाभित्र रहेर सबै पक्ष र पुस्तालाई समेट्दै अघि बढ्ने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले काँग्रेसमा चार पुस्ता एकैसाथ सक्रिय रहेको उल्लेख गर्दै सबैको सम्मान हुने गरी पार्टी सञ्चालन गर्ने बताए।
‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्न। दबाएर म दबिन्न। फकाएर फकिन्न। विधानको सीमा थाहा छ। विधानको सीमाभित्र बस्छु। सबैलाई जोडेर लैजाने हो। चार पुस्ता छन् यो पार्टीमा,’ केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले भने।
विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा पार्टीभित्र कसैलाई भेदभाव नगरिने पनि थापाले स्पष्ट पारे। उनले आगामी असोजमा १५औँ महाधिवेशन हुने उल्लेख गर्दै त्यसका लागि भइरहेको तयारीबारे बैठकमा जानकारी गराए।
क्रियाशील सदस्यता अद्यावधिकका क्रममा छुटेकालाई समेट्नुपर्ने लगायतका कारण वडा तथा केही तहका अधिवेशनको कार्यतालिकामा हेरफेर हुन सक्ने उनको भनाइ छ।
विशेष महाधिवेशनसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै थापाले त्यससम्बन्धी मुद्दाको सामना गर्ने बताए। उनले ‘सानका साथ मुद्दा लडिने’ धारणा बैठकमा राखे।
बैठकमा थापाले पार्टीभित्रबाटै आफूमाथि भएका आलोचना र निन्दाको प्रसंगसमेत उठाए।
‘कहिलेकाहीँ मेरै पार्टीका साथीहरूले मप्रति प्रयोग गर्नुभएको शब्दहरू निन्दाहरूको बारेमा आश्रयस्थलमा परिवारले कुरा गर्नुहुन्छ, सामाजिक सञ्जाल यस्तै हुन्छ यसले निन्दाका बारेमा धेरै बताउँछ, मलाई माया गर्ने मानिस तल गाउँ र टोलमा छरिएर बसेका छन्। उनीहरूले मलाई माया नगरेको भए घेराबन्दीका बीच म बाँचेर आउँदैनथेँ।’






