हाम्रो नेपाली समाजमा उमेर पुगेका युवालाई, विशेषतः महिलाहरूलाई सोधिने एउटा आम प्रश्न हो— “अनि बिहे कहिले गर्ने त?”
समाजले महिलाको जीवनलाई दुई भागमा बाँड्ने गर्छ— विवाहअघि र विवाहपछि। यस्तो लाग्छ, मानौँ विवाह नै जीवनको अन्तिम लक्ष्य हो, जसपछि सबै कुरा स्थिर र खुसीमय हुन्छ। तर आजको युवा पुस्ताले यो सोचलाई चुनौती दिइरहेको छ। उनीहरू भन्छन्— “विवाह मेरो विकल्प हो, बाध्यता होइन।”
आजको पुस्ताका लागि विवाह र स्वतन्त्रताबीच सन्तुलन मिलाउनु नै सबैभन्दा ठूलो चुनौती बनेको छ। परम्परागत सोचले विवाहलाई अनिवार्य र स्त्रीको जीवनको अन्तिम लक्ष्यजस्तो देखाउँछ। “विवाह गरेपछि सबै ठीक हुन्छ” भन्ने धारणा अझै धेरै ठाउँमा छ। तर वास्तविकतामा विवाहले मात्र खुसी ल्याउँछ भन्ने हुँदैन। यदि विवाहले स्वतन्त्र सोच, सपना र आत्मसम्मान खोस्छ भने त्यस्तो सम्बन्धले आफ्नो अर्थ गुमाउँछ।
समाजले विवाहलाई अनिवार्य बनाउँछ, तर स्वतन्त्रतालाई विलासिता ठान्छ। “फलानाकी छोरी २५ वर्ष पूरा भइसकी, अब त बिहे गर्ने बेला बितिसक्यो। अब कहाँ राम्रो केटा पाइएला? बूढीकन्या बस्ने भई!” यस्ता भनाइ नेपाली समाजमा अझै यथावत् छन्। नेपाली समाजमा विवाहलाई जीवनको “पूर्णता” मान्ने परम्परा गहिरो छ। मानौँ, बिहे नै उसको जीवनको अन्तिम लक्ष्य हो।
छोरी ठूली भएसँगै घरमा विवाहको कुरा सुरु हुन्छ, मानौँ उसको सम्पूर्ण अस्तित्व विवाहमै सीमित छ। तर आजको पुस्ता— विशेषगरी युवतीहरू— यो सोचसँग सहमत छैनन्। उनीहरूका लागि जीवनको अर्थ केवल विवाह होइन; स्वतन्त्रता, आत्मनिर्भरता र आत्मपहिचान पनि हो।
अहिले धेरै युवतीहरू विवाह ढिलो गर्ने वा नगर्ने निर्णय लिइरहेका छन्। यो विवाहको विरोध होइन— यो आत्मसम्मान र स्वतन्त्रताको माग हो। किनकि उनीहरू बुझिसकेका छन्, स्वतन्त्रताबिनाको विवाह केवल बन्धन बन्न सक्छ। उनीहरू फलानाकी श्रीमती वा बुहारीभन्दा पनि आफ्नै नाम र पहिचानले चिनिन चाहन्छन्।
स्वतन्त्रता भनेको केवल “एक्लै बस्नु” होइन। यो आफ्नो जीवनका निर्णय आफैँ लिन सक्ने क्षमता हो— चाहे त्यो पढाइ होस्, काम होस्, सम्बन्ध होस् वा आफ्ना सपना।
हामीले बुझ्नुपर्छ, स्वतन्त्र व्यक्ति मात्र साँचो अर्थमा प्रेम गर्न सक्छ, किनकि उसले प्रेमका नाममा आफ्नो अस्तित्व गुमाउँदैन।
यसो भन्दै गर्दा विवाह खराब कुरा हो भन्न खोजिएको भने होइन।
विवाह प्रेम, भरोसा र जिम्मेवारीको सम्बन्ध हो भने त्यो सुन्दर कुरा हो। एक विवाहित महिला भएको नाताले पनि म यो भन्न सक्छु कि आफूलाई बुझ्ने, इमानदार र आफ्ना भावना तथा सपनाको सम्मान गर्ने जीवनसाथी पाउँदा जीवनको मिठास छुट्टै हुन्छ। त्यस्तो साथले जिन्दगी जिउन अझ सहज बनाउँछ र अगाडि बढ्न हौसला दिन्छ। स्वस्थ वैवाहिक सम्बन्धले आत्मसन्तुष्टि पनि दिन्छ।
तर जब विवाह बाध्यता, सामाजिक दबाब वा आर्थिक निर्भरताको परिणाम बन्न पुग्छ, त्यहाँ स्वतन्त्रता हराउन थाल्छ। स्वतन्त्रता भनेको आफ्नो निर्णय आफैँ लिन सक्ने अधिकार हो। विवाहपछि यदि आफ्ना निर्णय गर्ने अधिकार, स्वतन्त्र सोच, सपना र आत्मसम्मान हराउँछन् भने त्यसको अर्थ त्यो सम्बन्ध असन्तुलित छ।
विवाह हरेक अवस्थामा नकारात्मक होइन। अझ मानिस सामाजिक प्राणी भएकाले पनि भन्न सकिन्छ कि मानिसले भावनात्मक सुरक्षा चाहन्छ। त्यसैकारण पनि एक समयपछि मानिसले साथी चाहन्छ, तर त्यसका लागि आफ्नो स्वतन्त्रताको बलिदान दिन भने डराउँछ।
यदि दुई जना समान समझदारी, आदर र स्वतन्त्रतासहित बाँच्छन् भने बिहे पनि स्वतन्त्रताको अर्को रूप हुन सक्छ। विवाहपछि आफ्नो करियर सुरु गरेका धेरै उदाहरणहरू छन्। यो आफ्नो जीवनसाथी र परिवारले दिने वातावरणमा पनि धेरै हदसम्म निर्भर गर्दछ।
समाज अझै पनि स्वतन्त्र सोच राख्ने युवतीलाई “अहंकारी” भन्छ। तर वास्तवमा उनीहरू नै नयाँ पुस्ताको आवाज हुन्— जसले विवाहलाई जीवनको एउटा हिस्सा मानेका छन्, तर जीवनकै अन्त्य होइन। विवाहपछि जीवनको अन्त्य हुँदैन, बरु आपसी समझदारी र सम्मान भए जीवनको अर्को सुन्दर अध्याय सुरु हुन सक्छ।
साँचो सम्बन्ध त्यही हो, जहाँ दुई व्यक्तिले एकअर्कालाई बन्धन होइन, स्वतन्त्रता र सहारा दिन्छन्। जहाँ “म” हराउँदैन, बरु “हामी” बन्ने ठाउँ पाउँछ। यस्तो सम्बन्धले जीवनलाई अझ सुन्दर बनाउँछ। विवाह गर्ने वा नगर्ने र विवाह कुन समयमा गर्ने भन्ने निर्णय हरेक व्यक्तिले आफैँ गर्न पाउनुपर्छ।
जीवन न बिहेले मात्र अर्थ पाउँछ, न स्वतन्त्रताले मात्र। साँचो खुसी तब सम्भव हुन्छ, जब व्यक्ति आफ्नो मनले रोजेको बाटोमा स्वतन्त्र भएर, प्रेम र आदरसहित अघि बढ्न सक्छ।
एक अध्ययनअनुसार विश्वमा अविवाहित व्यक्तिभन्दा विवाहित व्यक्तिहरू बढी खुसी देखिएका छन्, विशेषगरी जो स्वस्थ वैवाहिक सम्बन्धमा छन्। यस अध्ययनबाट पनि भन्न सकिन्छ कि मानिस तब मात्र खुसी हुन्छ, जब ऊ आफ्नो जीवन र सम्बन्धबाट सन्तुष्ट हुन्छ। र सन्तुष्टि सबैका लागि एउटै कुरामा हुँदैन। कसैका लागि स्वस्थ वैवाहिक सम्बन्ध सन्तुष्टिको आधार हुन सक्छ भने कसैका लागि एक्लै बाँच्ने स्वतन्त्रता।
त्यसैले प्रश्न अझै उभिन्छ-विवाह कि स्वतन्त्रता?
सायद उत्तर हो-स्वतन्त्रताभित्रको विवाह, र विवाहभित्रको स्वतन्त्रता।






