एकादेशमा दुई जना अत्यन्त मिल्ने साथी थिए। सँगै हुर्किए, सँगै बढे र सँगै पढे। संयोग भनौँ वा संयुक्त मेहनतको फल, दुवै जना एकै दिन समान पदमा सरकारी सेवामा नियुक्तसमेत भए।
एक जनाको नाम रामप्रसाद थियो भने अर्काको नाम हरिबहादुर। उनीहरूको मित्रता निकै गहिरो थियो। तालिम अवधिभर दुवै जना एउटै कोठामा बसे र सफलतापूर्वक तालिम पूरा गरे।
तालिमपछि पहिलो कार्यक्षेत्र रोज्ने अवसर आयो। मिल्ने भए सम्भवतः दुवै जना एउटै कार्यालय वा जिल्लामा जान्थे होलान्, तर त्यो अवसर जुटेन। रामप्रसादले मोफसलको एउटा जिल्लामा काम गर्ने अवसर पाए भने हरिबहादुर केन्द्रस्तरको कार्यालयमा खटिए।
दुवै जना अलग–अलग स्थान र कार्यालयमा रहे पनि आत्मीयतामा कुनै कमी आएन। अझ भनौँ, उनीहरूको मित्रता पहिलेभन्दा झन् प्रगाढ हुँदै गयो।
सरकारी सेवामा कार्यरत कर्मचारीको सरुवा नियमित प्रक्रिया हो। सोहीअनुसार निश्चित अवधि पूरा भएपछि दुवैको सरुवा भयो। संयोग पनि कस्तो भने, उनीहरूको सरुवा पारस्परिकजस्तै भयो। रामप्रसाद कार्यरत कार्यालयमा हरिबहादुर जाने भए भने हरिबहादुरले सम्हाल्दै आएको जिम्मेवारीमा रामप्रसाद आउने भए।
रामप्रसाद जिल्लास्तरीय कार्यालयका प्रमुख थिए भने हरिबहादुर केन्द्रमा शाखा अधिकृत मात्र थिए। सरुवाको खबरले दुवै जना खुसी भए। आफूले काम गरिसकेको ठाउँमा साथी पुग्ने भएकाले समस्या पर्दा एकअर्कासँग सल्लाह गर्न पाइने भयो भन्ने उनीहरूको सोच थियो।
रामप्रसादभन्दा हरिबहादुर अलि सोझा स्वभावका थिए। त्यसैले उनले रामप्रसादलाई आफू जाने कार्यालयको अवस्था, कामकारबाही र सम्भावित समस्याबारे केही टिपोट बनाइदिन अनुरोध गरेका थिए।
तोकिएको मितिमा हरिबहादुर नयाँ कार्यालयमा हाजिर हुन पुगे। रामप्रसादले आफ्नो मित्रलाई खुलेर स्वागत गरे। दिनभरको थकान र साँझको रमझमपछि दुई मित्र पुराना दिन सम्झिँदै गफिए। गफ गर्दागर्दै कतिबेला भुसुक्क निदाए, पत्तै पाएनन्।
भोलिपल्ट उठेपछि रामप्रसादले आफू त्यही दिन नयाँ जिम्मेवारी सम्हाल्न जानुपर्ने बताए। त्यसपछि दिनभर उनको बिदाइको तयारी चल्यो। कार्यालयले रामप्रसादको भव्य बिदाइ गर्यो।
बिदाइ हुनुअघि हरिबहादुरले आफूले मागेको विवरणबारे रामप्रसादलाई सम्झाए।
रामप्रसादले भने,
“समस्याका मुख्य दुई उपाय दराजमा खामबन्दी गरेर राखिदिएको छु। समस्या पर्दा मात्र खोल्नु। अरू कुरा फोनमा गरौँला।”
यति भनेर रामप्रसाद आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न हिँडे। हरिबहादुरले कार्यालयको नेतृत्व सम्हालेर काम गर्न थाले।
सुरुका दिन निकै राम्ररी बिते। हरिबहादुरले पनि मेहनतपूर्वक काम गरे। करिब एक वर्षसम्म खासै गुनासो वा समस्या आएन।
एक वर्षपछि भने बिस्तारै समस्या देखिन थाले। पन्ध्र महिनाको आसपास पुग्दा समस्या झन् चर्कियो। कार्यालयभित्र र बाहिरबाट अनेक प्रश्न उठ्न थाले। के गर्ने भनेर सोच्दासोच्दै हरिबहादुरलाई रामप्रसादले दराजमा राखिदिएको खाम सम्झना आयो।
उनले दराज खोले र पहिलो खाम निकाले।
खामभित्र लेखिएको थियो-“यी सबै समस्या आउनुको कारण पहिलेको हाकिम र उसको व्यवस्थापन हो भन्नू। म पुराना सबै कुरा सच्याउँछु, भत्काउँछु र पुरानो परम्परा तोड्छु भन्नू। अब सबै सम्हालेर देखाउँछु भनेर मौखिक प्रतिबद्धता गर्नू र सोहीअनुसार सम्झौता पनि गर्नू।”
हरिबहादुरले रामप्रसादले लेखिदिएअनुसार नै गरे। पुरानो नेतृत्व र व्यवस्थापनका कमजोरी औँल्याए। सुधार गर्ने प्रतिबद्धता जनाए। पुराना अभ्यास बदल्ने र नयाँ ढङ्गले कार्यालय चलाउने घोषणा गरे।
त्यसपछि कार्यालय करिब आठ–नौ महिना जेनतेन चल्यो।
तर समय बित्दै जाँदा फेरि समस्या र विवादहरू अगाडि आउन थाले। यसपटक समस्या झन् जटिल थिए। हरिबहादुरले समाधानका अनेक उपाय लगाए, तर सफल हुन सकेनन्। अन्ततः उनी थाकेर हार मानेजस्तै अवस्थामा पुगे।
त्यही बेला उनलाई रामप्रसादले राखिदिएको अर्को खाम सम्झना आयो।
उनले हतारहतार दराज खोले। दोस्रो खाम निकाले र खोलेर हेरे।
त्यसमा छोटो वाक्य मात्र लेखिएको थियो-
“तिम्रो पालो पुग्यो, अब झोला कस्नु।”
हरिबहादुर केहीबेर खाममा लेखिएको वाक्य हेरिरहे।
नभन्दै केही दिनपछि कार्यालयमा फेरि कर्मचारीहरू भेला भएका थिए।
यसपटक त्यो भेला कुनै समस्याको समाधान खोज्नका लागि थिएन।
हरिबहादुरको बिदाइका लागि थियो।






