काठमाडौँ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले टर्कीले शांघाई सहयोग संगठनसँगको सम्बन्धलाई निरन्तर रूपमा विस्तार गर्दै लैजाने बताएका छन् ।
एर्दोगानले टर्की शांघाई सहयोग संगठनको संवाद साझेदार रहेको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा संगठनसँग टर्कीको सम्बन्ध थप घनिष्ठ बन्दै गएको बताए ।
एर्दोगानले शांघाई सहयोग संगठनका सदस्य राष्ट्रहरूले विश्वको जनसंख्या तथा आर्थिक उत्पादनको ठुलो हिस्सा ओगटेको उल्लेख गर्दै संगठनमा उल्लेखनीय सम्भावना रहेको बताए ।
उनकाअनुसार, किर्गिस्तानको राजधानी बिश्केकमा सेप्टेम्बर १ मा आयोजित शांघाई सहयोग संगठन प्लस बैठकमा उनले संगठनका सदस्य राष्ट्रहरूसँग टर्कीको व्यापार बढाउने प्रतिबद्धता पुनः व्यक्त गरेका थिए ।
बैठकमा बहुध्रुवीय विश्व व्यवस्थाको विकासमा शांघाई सहयोग संगठनले पुर्याउन सक्ने योगदानबारे समेत छलफल भएको एर्दोगानले बताए । टर्कीले पछिल्ला वर्षहरूमा चीन, रुस तथा मध्य एसियाली राष्ट्रहरूसँग आर्थिक तथा कूटनीतिक सम्बन्ध विस्तार गर्दै आएको छ ।
एर्दोगानको पछिल्लो भनाइले शांघाई सहयोग संगठनसँगको सहकार्यलाई टर्कीले थप प्राथमिकता दिन खोजेको संकेत गरेको छ ।






