काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले नयाँ अनुहार सरकारमा आउँदैमा मात्रै नयाँ राजनीति स्थापित नहुने बताएका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै परियारले यस्तो बताएका हुन्। उनले सरकार परिवर्तनभन्दा शासनको चरित्र परिवर्तन महत्वपूर्ण रहेको बताए ।
गत वर्षको भदौ २३ गते भएको जेन जेड आन्दोलनलाई वर्षौँदेखि नेपाली समाजमा थुप्रिएको असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गरे । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आन्दोलनको तत्कालीन कारण भए पनि भ्रष्टाचार, बेरोजगारी, राजनीतिक पहुँचवाद, नातावाद र परिवारवाद तथा युवाको विदेश पलायनजस्ता समस्या आन्दोलनका मुख्य पृष्ठभूमि रहेको उनको भनाइ छ ।
उनले जनताको आवाज नसुन्दा आन्दोलन र आक्रोश जन्मिने तथा आक्रोशलाई गलत ढंगले सम्बोधन गर्दा राज्य नै संकटमा पर्न सक्ने बताए । परियारले प्रधानमन्त्री वालेन्द्र साह नेतृत्वको सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासन सुधार, डिजिटल सेवा र युवालाई अवसर दिने विषयमा गरेका प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने बताए ।
उनले भने, ‘सामाजिक सञ्जाल प्रतिबन्ध आन्दोलनको कारण मात्र थिएन, त्यो त विस्फोट गराउने झिल्को मात्र थियो । बारुद त वर्षौँदेखि नेपाली समाजभित्र जम्मा भइरहेको थियो । नयाँ अनुहार आउँदैमा नयाँ राजनीति भइहाल्दैन । पुरानो कुर्सीमा नयाँ व्यक्ति बस्दैमा प्रणाली परिवर्तन भइहाल्दैन । सरकार परिवर्तन हुनु सजिलो छ, तर शासनको चरित्र परिवर्तन गर्नु कठिन छ । प्रधानमन्त्री बदलियो तर के नेपाली नागरिकको भविष्य बदलियो ?’
उनले बेरोजगारी, युवाको विदेश पलायन, बाँझो खेत, किसानको उत्पादनको उचित मूल्य र सरकारी सेवामा नागरिकले भोग्नुपरेको झन्झट अझै कायम रहेको भन्दै सरकारलाई प्रश्न गरे । परियारले भ्रष्टाचारविरुद्धको कारबाही निष्पक्ष हुनुपर्नेमा जोड दिए। सत्तापक्ष वा प्रतिपक्ष, पुरानो वा नयाँ दलसँग सम्बन्धित भए पनि दोषी देखिए कानूनी कारबाही गर्नुपर्ने उनको भनाइ छ । उनले भ्रष्टाचारविरुद्धको अभियान राजनीतिक प्रतिशोधका रूपमा देखिए जनताको विश्वास गुम्ने चेतावनीसमेत दिए ।






