काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँ शिक्षालय ललितपुरले बाढी पहिरो प्रभावितप्रति ऐक्यबद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्याली आयोजना गरेको छ ।
‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले र्यालीको उद्घाटन गरेका थिए । इमाडोलबाट शुरु भएको र्याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामा टार हुँदै पुनः विद्यालय परिसरमा आएर सम्पन्न भएको थियो।
र्याली २० र २५ किलोमिटर गरी दुई विधामा सञ्चालन गरिएको थियो । विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइकल र्यालीलाई खेलकुदसँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताए। दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ । विद्यालयले अबदेखि हरेक वर्ष संविधान दिवसका अवसरमा साइकल र्याली आयोजना गर्ने जनाएको छ ।






