काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनअनुसार उक्त अवधिमा यी दुई प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। एक-दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।
बंगालको खाडीको प्रणाली शक्तिशाली बन्दै
उत्तर अण्डमान सागर र आसपास विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्यभागमा रहेको विभागले जनाएको छ।
उक्त मौसमी प्रणाली थप शक्तिशाली बन्ने सम्भावना रहेकाले यसको प्रभाव नेपालमा समेत पर्ने पूर्वानुमान गरिएको हो। बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा सुरु हुन सक्ने जनाइएको छ।
बाढी, पहिरो र डुबानको जोखिम
लगातारको भारीदेखि अति भारी वर्षाले नदी तथा खोलामा बाढी, पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबान निम्त्याउन सक्ने प्राधिकरणले चेतावनी दिएको छ।
आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र र नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
जोखिमको पूर्वसूचना प्राप्त भए सुरक्षित स्थानमा सर्न र अनावश्यक यात्राबाट जोगिनसमेत प्राधिकरणले अनुरोध गरेको छ।
तीनै तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन
प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई उद्धार तथा राहतको तयारी अवस्थामा रहन आग्रह गरेको छ।
जोखिममा रहेका राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न भनिएको छ। जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायलाई पूर्वसूचना तथा चेतावनीका आधारमा जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने तयारी गर्न आग्रह गरिएको छ।
सहायता र सूचनाका लागि हटलाइन
वर्षा तथा बाढीसम्बन्धी जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल-फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।
विपद्का बेला सहायता माग्न राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।






