काठमाडौँ। मौसममा क्रमिक सुधार आएपछि दाङ जिल्लाभित्र रोकिएको सवारीसाधनको आवागमन भोलि बिहानदेखि पूर्ण रूपमा सञ्चालन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय दाङले सोमबार बिहान ६ बजेदेखि जिल्लाभित्र सञ्चालन हुने सबै प्रकारका सवारी साधनलाई आवागमन गर्न दिने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ जारी गरेको अत्यन्त जरुरी सूचनामा दाङ तथा आसपासका क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएकाले सवारी आवागमन खुला गर्ने निर्णय गरिएको जनाएको छ।
यद्यपि, सडकको जोखिमको अवस्थालाई ध्यानमा राख्दै चालक तथा यात्रुलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। ट्राफिक संकेत, सुरक्षा निर्देशन तथा सम्बन्धित निकायबाट जारी सूचनालाई गम्भीरतापूर्वक पालना गरी सुरक्षित रूपमा यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
अविरल वर्षाका कारण सडकमा पहिरो, कटान तथा अन्य क्षति भएको हुनसक्ने भएकाले यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न प्रशासनले सचेत गराएको छ।
आपत्कालीन अवस्था वा सडकसम्बन्धी समस्या परेमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५७८०७७७७, जिल्ला प्रहरी कार्यालय दाङको ९८५७८०५५५५ र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।







