वेस्ट बैंक । वेस्ट बैंकमा जैतुन बाली उठाउने मुख्य सिजन नजिकिँदै गर्दा त्यहाँका किसान गम्भीर संकटमा परेका छन् ।
लामो समयदेखि परिवारको जीविकोपार्जनको आधार रहँदै आएका हजारौँ जैतुनका रूखहरू पछिल्लो समय बुलडोजरको प्रयोग गरी फँडानी गरिएपछि किसान आफ्नो खेतबारीमा प्रवेश गर्नसमेत असुरक्षित महशुस गरिरहेका छन् । प्यालेस्टिनी किसानका लागि जैतुनका रूखहरू केवल आम्दानीका स्रोत मात्र नभई पुर्खाबाट हस्तान्तरित सांस्कृतिक धरोहर र पारिवारिक एकताको प्रतीक हुन् ।
अक्टोबर ७, २०२३ पछि वेस्ट बैंकमा बढेको सुरक्षा नियन्त्रण, आवतजावतमाथिको प्रतिबन्ध र इजरायली बस्तीहरूको विस्तारले किसानको नियमित कृषि कार्यमा गम्भीर अवरोध पुर्याएको छ । जैतुन तथा जैतुन तेल काउन्सिलका निर्देशक फयाद फयादकाअनुसार यस वर्ष मात्रै ८ हजार ४ सय भन्दा बढी पुराना जैतुनका रूखहरू काटिएका वा उखेलिएका छन् । सन् २०१० देखि हालसम्म करिव २ लाख ५० हजार रूखहरू नष्ट भएको तथ्यांकले कृषि क्षेत्रमा परेको असरको भयावह तस्बिर प्रस्तुत गर्दछ । स्थानीय किसान हाजेम हाफेजले आफूहरूको पुर्ख्यौली सम्पत्ति र जीविकोपार्जनको एकमात्र माध्यम बिना कुनै ठोस कारण नष्ट गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्यालेस्टिनी कृषि मन्त्रालयले अक्टोबर १५ लाई बाली उठाउने आधिकारिक समय तोकेको भएपनि फिल्डमा पुग्न नसक्ने अवस्थाले गर्दा किसानमा अनिश्चितता छाएको छ । द्वन्द्व र भौतिक संरचनाको विनाशका कारण पुस्तौँदेखि खेती गरिआएका किसानहरू अहिले आफ्नो उत्पादन मात्र होइन, आफ्नो जग्गाको स्वामित्व सुरक्षित राख्न समेत संघर्ष गरिरहेका छन् ।



