कैलाली । सार्वजनिक यातायातका यात्रुलाई आवश्यक सूचना, परामर्श तथा यात्राका क्रममा देखिने समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गोदावरी नगरपालिका-२ स्थित अत्तरिया बसपार्कमा सहायता कक्ष स्थापना गरी आइतबारदेखि सञ्चालनमा ल्याएको हो।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहायता कक्षको औपचारिक रूपमा शुभारम्भ गरिएको प्रहरीले जनाएको छ।
यात्रुको गुनासो तत्काल सम्बोधनमा सहजीकरण
सहायता कक्षमार्फत सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुका समस्या तथा गुनासो सुन्ने र यात्राका क्रममा उत्पन्न हुने असहजता समाधानका लागि आवश्यक सहजीकरण गरिनेछ।
यात्रु र यातायात व्यवसायीबीच समन्वय बढाउँदै सुरक्षित, व्यवस्थित र मर्यादित यातायात सेवा प्रवाहमा समेत सहायता कक्षले भूमिका खेल्ने प्रहरीको अपेक्षा छ।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आवतजावत गर्ने यात्रुको प्रमुख केन्द्रमध्ये अत्तरिया बसपार्क एक हो। सहायता कक्ष सञ्चालनसँगै यात्रुले आवश्यक सूचना, परामर्श तथा प्रहरी सहयोग सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ।
उद्घाटन कार्यक्रममा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, विभिन्न यातायात कम्पनी तथा व्यवसायी, पत्रकार, यात्रु, चालक र सहचालकको सहभागिता थियो।
प्रहरीले यात्राका क्रममा कुनै समस्या वा गुनासो भए अत्तरिया बसपार्कस्थित यात्रु सहायता कक्षमा सम्पर्क गर्न यात्रुलाई आग्रह गरेको छ।



