काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार हुने चौथो दिनको बन्द सत्र सबैका लागि खुला गरिएको छ। महाधिवेशनस्थल खुलामञ्चमा प्रवेश पाएका व्यक्तिले बन्द सत्रसमेत अवलोकन गर्न पाउने भएका हुन्।
काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्द सत्रलाई पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणसमेत गरिनेछ। अन्य सञ्चारमाध्यमलाई पनि बन्द सत्रको प्रत्यक्ष प्रसारण गर्न दिइने उनले जानकारी दिए।
यसअघि काँग्रेसको विशेष महाधिवेशनमा पनि बन्द सत्रलाई सबैका लागि खुला गरिएको थियो। त्यही अभ्यासलाई १५औँ महाधिवेशनमा पनि निरन्तरता दिइएको काँग्रेसले जनाएको छ।
महाधिवेशनको बन्द सत्र सोमबारदेखि जारी छ। मंगलबार तेस्रो दिनको छलफल सकिएपछि बाँकी प्रक्रिया बुधबार बिहान साढे १० बजेदेखि अघि बढाउने तयारी गरिएको थियो। यद्यपि निर्धारित समयभन्दा केही ढिलो गरी सत्र सुरु हुन सक्ने जनाइएको छ। मंगलबारको छलफल सकिएको र बुधबार पुनः बन्द सत्र सञ्चालन हुने कार्यक्रम सार्वजनिक भएको थियो।
बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने कार्यसूची छ।
ती प्रस्ताव तथा प्रतिवेदनमाथि सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले छलफलमा भाग लिएका छन्। प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायत विषयमा आफ्ना धारणा र सुझाव राखेका छन्।
बाँकी धारणा र सुझाव समेटेर प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइने काँग्रेसले जनाएको छ।
बन्द सत्रको प्रक्रिया टुंगिने क्रममा पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने कार्यक्रम छ। काँग्रेसले मंगलबार नै बुधबारको सत्रमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको थियो।
राजनीतिक, समसामयिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित भएसँगै महाधिवेशनको नीतिगत छलफलको चरण टुंगिनेछ। त्यसपछि महाधिवेशनको मुख्य ध्यान नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रियामा केन्द्रित हुनेछ।



