काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका थियो। वर्षा र केही प्राविधिक कारणले निर्धारित समयभन्दा तीन घण्टा ढिला गरी बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको हो।
मतदानका लागि काठमाडौँका तीन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। महाधिवेशन प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा मतदान केन्द्र छुट्याइएको निर्वाचन समितिले जनाएको छ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले पनि खुलामञ्चमै मतदान गर्नेछन्।
त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।
महाधिवेशन प्रतिनिधिले आफूलाई तोकिएको केन्द्रमै पुगेर मतदान गर्नुपर्नेछ। मतदानअघि प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरिने र त्यसपछि मात्रै मतदान गर्न दिइने व्यवस्था मिलाइएको छ।



