काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिए।
नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि नै परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेण्डा तय गरिरहेको जनाएको छ ।
उनले भने, ‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्युको भ्रमण हुने नै छ । उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ । भ्रमणको मिति तय भइरहेको छैन । मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ ।’
परराष्ट्र मन्त्रालयले अन्य उच्चस्तरीय भ्रमणको तयारी र एजेण्डामाथि काम गरिरहेको समेत उनले जानकारी दिए।



