काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ।
प्रहरीले पटक–पटक सम्पर्क गरेपछि आफू ब्युरोमा उपस्थित हुन लागेको जानकारी सिवाकोटीले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
चाडबाडको बिदाका दिनसमेत प्रहरीबाट ताकेता आएको उल्लेख गर्दै उनले ब्युरोमा पुग्ने तयारीमा रहेको बताएका छन्।
‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दै छु,’ सिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले आफ्ना नियमित भेटघाटसमेत सम्भव भएसम्म साइबर ब्युरोमै गर्ने उल्लेख गरेका छन्।
यसअघि कात्तिक १९ गते पनि शिवाकोटीलाई ब्युरोले सम्पर्क गरी उपस्थित हुन भनेको समाचार सार्वजनिक भएको थियो। त्यसबेला उनी काठमाडौँबाहिर धार्मिक यात्रामा रहेको जनाइएको थियो।
शिवाकोटीलाई पत्रकार रोशन खड्काको उजुरीका आधारमा बोलाइएको ब्युरो स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।





