काठमाडौं । थाइ एयरवेजले सुन तस्करी प्रकरणमा परेका कर्मचारीलाई सेवाबाट हटाएको छ । ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका कर्मचारीलाई मुद्दा दायर भएको चार महिना पछि सेवाबाट हटाएको हो ।
असोज ५ बाट लागू हुनेगरी थुनामा रहेका सात कर्मचारीलाई अवकाश दिएको एयरवेजले जनाएको छ । अवकाश पाउनेमा हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिल राज पुरी छन्।
एयरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐनअनुसार अवकाश दिएको जनाएको छ। श्रम ऐन २०७४ को दफा १३४(६) अनुसार रोजगारदाता आफैँले उजुरी दिई थुनामा रहेको अवस्थामा बाहेक प्रचलित कानुनबमोजिम थुनामा रहेको अवस्थामा निलम्बन ९० दिनभन्दा बढी भएको अवस्थामा सेवाबाट अवकाश दिनसक्ने व्यवस्था छ।